राष्ट्रिय समाचार

  • जसलाई अभावले सताउँछ, उसले प्रगति गर्छ

    news

    हामी नागरिक बन्न सकेनौँ
    सबैले देश बिग्रियो–बिग्रियो भन्छन् । म पनि सप्रेको भन्दिनँ । तर, बिग्रेकै पनि होइन । त्यसमा मेरो आफ्नै अवधारणा छ । व्यक्तिगत रूपमा नेपालीले धेरै विकास गरेका छन् । त्यो कुन मानेमा भने, म पोखरा जाने वेलामा लाइनका लाइन पसल छन् । १०/१२ किलो सुनका सिक्री बेचिरहेका छन् । गल्लीगल्लीमा राम्रा–राम्रा पसल छन् । न्युरोडमा हेर्नुहोस्– आजभन्दा पाँच–दश वर्षपहिलासम्म पनि गुदपाक, सेकेन्डह्यान्ड घडी बेच्ने पसल भएको ठाउँमा अहिले झन्डै ८० वटा ज्वेलर्स पसल छन् । त्यहाँ गएर एउटा हीराको माला किन्नुभयो भने पाँचदेखि १० लाखसम्म पर्छ । पाँच–दश लाखको हीराको माला किन्न सक्ने मान्छे पनि नेपालमा रहेछन् । एक–दुईजनाले मात्र किनेर त ती पसल चल्ने होइनन् । भाटभटेनीमा दिनको कमसेकम पाँच–६ करोडको कारोबार हुन्छ होला । चार–पाँच हजार खल्तीमा पैसा नभई भाटभटेनी पस्नै हुँदैन । विदेशी पर्यटकको भरमा होइन, नेपालीकै भरमा ती पसल चलेका छन् । स्कुल, कलेज, अस्पताल, बैंक पनि त्यसरी नै विकास भएका छन् । यसो विचार गर्दा नेपाली गरिब होइनन्, धनी भइसकेका छन् । नेपालीसँग पैसा छ । नराम्रा पक्ष पनि छन् । तर, राम्रो आँखाले हेर्ने हो भने धेरै राम्रा काम पनि भएका छन् । तर पनि देश कसरी पछि पर्‍यो ? म के निष्कर्षमा पुगेँ भने, राजाको पालामा मानिस प्रजा भए । प्रजातन्त्र आयो, प्रजा जनता भए । तर, जनता अहिलेसम्म नागरिक बन्न सकेनन् । मुख्य समस्या यही हो– हामी नागरिक बन्न सकेनौँ । व्यक्तिगत रूपमा हामीले धेरै गर्‍यौँ, तर देशका लागि केही पनि गर्न सकेनौँ । स्विट्जरल्यान्डमा गयो भने त्यहाँ सबै व्यवस्था छ । सुरक्षा नै सुुरक्षा छ । किनकि त्यहाँ प्रत्येक मानिसलाई ‘मैले के गर्नुपर्छ, के गर्नुहुँदैन’ भन्ने थाहा छ । तर, नेपालमा अरूले के गर्नुपर्छ भन्ने कुरा मलाई सबै थाहा छ । तर, मैले के गर्नुपर्छ भन्नेचाहिँ थाहा छैन । पत्रिकामा लेख लेख्ने बुद्धिजीविहरू सबै अरूले गर्नुपर्ने कुराहरू एक–एक लेखिदिन्छ । तर, आफूले के गर्नुपर्छ भन्नेचाहिँ थाहा हुँदैन । यस्तो पनि समाज हुन्छ ?

    हामी गम्भीर हुन जरुरी छ 
    जुन वेलासम्म आमजनतामा उसको विवेकको नियमले नियमन गर्न सक्दैन त्यस वेलासम्म कुनै पनि नियम, कानुन, विधान, संविधान आएर देश बन्ने होइन । ०४७ को संविधानलाई सबैभन्दा राम्रो भन्थे । त्यसले काम गरेन । अहिले बनेको संविधानले देश बन्छ भन्ने के ग्यारेन्टी ? हिजोसम्म हामी सबै नेपाली, भाषा नेपाली, धर्म नेपाली, सबै नेपालीले नेपाल देश बनेको थियो । तर, आज नेवार, बाहुन, क्षेत्री, राई, लिम्बूमा विभाजित छौँ । हामी नागरिकभित्र सचेतना जागरुक भएन भने एउटा व्यक्तिले मात्र केही गर्न सक्दैन । मैले ‘सोच, खोज, मोज’ र ‘म सक्छु’ भन्ने किताब लेखेँ । जहिले पनि एउटा चिन्तन, सोच, विचारका आधारमा लेखिरहेको छु । पहिला स्कुलमा नागरिक शिक्षा पढाइ हुन्थ्यो । तर, आज त त्यो पनि छैन । नेपाललाई मैले के गर्नुपर्छ भन्ने नपढेपछि सभ्य समाज कहाँबाट बन्छ ? कति मानिस पलायन भइरहेका छन् । कतिपयको तन पलाएन भइरहेको छ, कतिपयको मन पलायन भइरहेको छ, धन पलायन भइरहेको छ । यस्तो अवस्थामा हामीले गम्भीर भएर सोच्न जरुरी छ ।

    हामी भएर पनि गर्न नसक्ने मूर्ख
    नेपालमा के छैन ? मैले एउटा कथा लेखेको थिएँ– ब्रह्माजीले चारवटा टाउको फैलाएर टेबलमा हात चलिरहेका थिए । त्यहाँ सरस्वती आउनुभयो र भन्नुभयो, ‘प्रभु हजुरले के बनाइराख्नुभएको ? ब्रह्माले भन्नुभयो ‘म एउटा संसारमा पर्यटकीय गन्तव्य स्थल बनाउँदै छु ।’ सरस्वतीः कहाँ हजुर ? ब्रह्माः नेपाल भन्ने नाम बनाएर पर्यटकीय स्थल बनाउँदै छु– हिमाल, सगरमाथा, संसारको सबैभन्दा गहिरो ठाउँ पनि यहीँ राखिदिउँ, ताल, धारा, मुहान, पशुपति, भगवान् बुद्ध, गैँडा, बाघ, वनजंगल, झरना पनि यहीँ राखिदिऔँ । सरस्वतीः यति सानो देशमा यतिको सबै राखिदिने र ? ब्रह्माः यस ठाउँलाई संसारको गन्तव्य स्थलका रूपमा विकास गर्नुपर्छ । तर, हामी नेपालीले माल पाएर चाल पाउन सकेनौँ । स्रोत र साधनको व्यवस्थापन गर्न सकेनौँ । त्यसकारण हामी भएर पनि व्यवस्थापन गर्न नसक्ने मूर्ख हौँ । तब हामीले गर्न सक्छौँ, जब प्रजा सचेत नागरिक हुन्छन् । २०–२२ वर्षको केटा बाउकहाँ जान्छ र भन्छ ‘मलाई मोटरसाइकल चाहियो । बाउले जग्गा बेचेर मोटरसाइकल किनिदिन्छ । जहाँ पायो त्यहीँ पार्किङ गर्छ । यात्रु बीचबाटोमा गएर बस रोकेर चढ्छ । संसारमा कहीँ यस्तो छ ? चढ्ने र ओराल्ने ठाउँमा मात्र चढ्ने र ओर्लने गर्नुपर्नेमा जहाँ पायो त्यहीँ बस रोक्न लगाउँछौँ । ठूलो घर भयो भन्दैमा लाउड स्पिकर राखेर गीत बजाइन्छ । आफ्नो अधिकारको उपयोग गर्ने भन्दैमा अरूको अधिकार खोस्न मिल्छ ?

    नागरिक शिक्षाको आवश्यकता
    म अहिले महिनाको दुई–तीन चोटि कलेज जान्छु । २० देखि ३० वर्षका युवाहरूको मन जित्न चाहन्छु– तिमी–हामीले यो देशलाई सम्झेनौँ भने कसले सम्झने ? अर्को गज्जबको कुरा । स्कुलबाट बच्चा आउनासाथ आमाबुबा ‘यो पढ, त्यो पढ मात्र भन्छन् ।’ पढे सचिव, डाक्टर बन्न पाउँछौ, पढेनौ भने खेत जोत्ने, डकर्मी, सिकर्मी हुन्छौ भनेर श्रमको विभाजन गरिदिन्छौँ । आठ–नौ वर्षको बच्चालाई ब्रेन वास गर्दागर्दा २२–२३ वर्षको भएपछि उसको दिमागमा एउटै चिज हुन्छ– म जसरी भए पनि डाक्टर हुनुपर्‍यो । सफल हुनुपर्‍यो । उसको तागत छ कि छैन, क्षमता छ कि छैन । जे गरे पनि सफल हुनुपर्‍यो । ढुंगा हानेर भए पनि सफल हुनुपर्‍यो, टायर बालेर भए पनि सफल हुनुपर्‍यो, घुस खुवाएर भए पनि सफल हुनुपर्‍यो, अरूलाई गाली गरेर भए पनि सफल हुनुपर्‍यो । ऊ यति स्वार्थी हुन्छ कि आफ्नो पद पाउन र नाम राख्न जे पनि गर्न तयार हुन्छ । त्यसकारण मेरो कर्म के हो, धर्म के हो, समाज मेरो मात्र होइन, हामी सबैको हो भन्ने चेतना जगाउन नागरिक शिक्षाको अति आवश्यक छ ।

    नेपालमै सकिन्छ
    जसलाई अभावले सताउँछ, उसले प्रगति गर्छ । सबै चिजले पुगेको मान्छे कहिल्यै पनि माथि जाँदैन । सहुलियत र सुविधा स्लो पोइजन हो, त्यसले मानिसलाई अल्छी बनाउँछ । अभावले सताएको मान्छे नै माथि जान्छ । मःमः त एउटा उदाहरण मात्र हो, अर्गानिक फार्मलगायत नेपालमा धेरै काम गर्न सकिन्छ । बाहिर गएर केही पैसा कमाए पनि आफ्नो पहिचान हुँदैन भन्ने महसुस गरेर नेपाल फर्कनेहरू पनि छन् । विदेश गएका नेपाली पनि स्वदेश फर्कने क्रम बढिरहेको छ । यो पनि सकारात्मक पक्ष हो । यदि तेस्रो आँखा खोलेर हेर्नुभयो भने नेपालमा काम गर्ने अवसर छ । म त भन्छु–विदेशमा जतिसुकै ठूलो काम गरे पनि नोकर नै हुने हो । मालिक बन्ने हो भने यही देशमा काम गर्नुपर्छ । यही देशमा मात्र मालिक बन्ने अवस्था छ । पीडा बुझ्न सकियो भने नेपालमा धेरै गर्न सकिन्छ ।

    विश्वका कुनै पनि देशका ९९.९ प्रतिशत जनता धनी भएका छैनन् । अमेरिकामा अहिले नर्मल मानिसभन्दा कमका करोडौँ छन् । रुस, भारतलगायत अन्य देशमा पनि धनी र गरिब दुवै छन् । नेपालमा काम गर्ने मानिस सबै विदेश पलायन भएका छन् । फाँटका फाँट जमिन बाँझो छन् । मान्छे हेर्ने हो भने लौरो टेकेर हिँड्ने मात्र छन् । बूढाबूढी मात्रै भएको देशको विकास कसरी हुन्छ ? उद्योगधन्दा गर्नका लागि नेपालमा अवसर थुप्रै छन् । तर, अवसर हेर्ने आँखा हामीमा पुगेन । एक त हामी आज काम गर्ने बित्तिकै भोलि नै करोडपति हुने सोच्छौँ । हामीमा धैर्यधारण गर्ने क्षमता छैन । आज कार्यकर्ता भयो, भोलि नै मन्त्री हुनुपर्ने, आज चिया पसल खोल्यो भोलि नै करोडपति हुनुपर्ने, आज पिउन भयो भोलि नै सचिव हुनुपर्ने मनस्थिति छ । आजको भोलि नै कायापलट गर्न सम्भव हुँदैन । सबै समस्याको एकैपटक समाधान त इन्द्रको बाउ चन्द्र आए पनि गर्न सक्दैन । स्टेप बाई स्टेप अगाडि बढ्ने हो भने अवश्य परिवर्तन सम्भव छ ।

    कामको दृष्टिकोणले हेरौँ 
    एउटा नेपालीले अर्को नेपालीलाई सम्मानको दृष्टिकोणले हेरौँ । कामको दृष्टिकोणले हेरौँ । अर्काको दुःखलाई पनि हेरौँ । आमनागरिक सचेत र महान् आदर्शवाद हुनुपर्दैन । चेतनशील नागरिक महान् नैतिकवान् हुनु पनि पर्दैन । चिन्तनशील नागरिक महान् निःस्वार्थी पनि हुनुपर्दैन । नागरिकमा स्वार्थ चाहिन्छ । किनकि स्वार्थ भनेकै इच्छा र आकांक्षालाई अगाडि बढाउने मट्टीतेल हो । तर, स्वार्थ परिपूर्ति गर्ने वेलामा अर्काको टाउकोमा टेक्नचाहिँ हुँदैन । आफ्नो स्वास्थ पनि पूरा गर र अरूको स्वार्थ पूरा गर्न पनि मद्दत गर । तपाईंलाई मारेर म अगाडि बढ्नु भएन । तपाईंलाई काटेर म अगाडि बढ्नु भएन । तर, विकास भनेको एकजनाले एक्लै लिएर जाने होइन । विकास भनेको सामूहिक रूपमा हुने हो । कर्ण शाक्यको मैनबत्ती जतिसुकै उज्यालो बले पनि पिँधमा अँध्यारो हुन्छ । त्यो अँध्यारो अटाउन तपाईंको मैनबत्ती बलेको हुनुपर्छ । तपाईंको मैनबत्तीको मुनिको अँध्यारो हटाउन मेरो मैनबत्ती बलेको हुनुपर्छ । तपाईं, हामी सबैको उज्यालोले समाज उज्यालो बन्ने हो । विकास यही हो । त्यसकारण संयुक्त रूपमा स्वार्थ परिपूर्ति गरियो भने समाज समृद्ध बन्नेछ । समृद्ध समाजबाट नै समृद्ध देश बन्ने हो । त्यसैलाई मध्यनजर गर्दै मैले नागरिक अभियान ‘एक कान दुई कान मैदान’ थालेको छु ।

    अब के गर्ने ?
    जुन वेलासम्म मानिस नागरिक बन्न सक्दैन, त्यो देशमा विकास हुँदैन भन्ने कुरालाई आत्मसात् गर्दै हरेक स्कुलमा नागरिक शिक्षाको व्यवस्था गर्नुपर्छ । २० देखि ३० वर्षका युवा भनेका देशका लागि धेरै महत्वपूर्ण हुन्छन् । त्यसकारण उनीहरूलाई उच्छृंखल नभई क्यारियर कन्सेप्ट विकास गराउन कलेजमा पनि नागरिक शास्त्रको कोर्स राख्नुपर्छ । यसले नेपालको विकासको अवधारणालाई, सोचको अवधारणालाई, एकले अर्काको सम्मान गर्ने अवधारणालाई अगाडि बढाउन सहयोग पुग्छ । जब अर्काको आँखाबाट मैले हेर्न सकेँ भने देश बन्ने हो । देश तब माथि जान्छ, जब अर्काको कानबाट मैले सुन्न सक्छु । समस्याको समाधान जुन वेला हुन्छ, जब मैले अर्काको मनले मनन गर्न सक्छु । मेरो चस्माले मात्र, मेरै दृष्टिकोणले मात्र हेरेर, मेरै अवधारणाले मात्र हेरेर मूल्यांकन गर्न खोजियो भने त्यो अन्त्यहीन समस्याको महासागर बन्नेछ । यसकारण समाज र राष्ट्र त्यो वेला माथि उठ्न खोज्छ, जब एकले अर्काको मन बुझ्न खोज्छ, एकले अर्काको आवश्यकता बुझ्छ र एकले अर्काको समस्या बुझ्छ । त्यसकारण विकास भनेको दुई हातको ताली हो । जसरी एक हातले ताली बज्दैन, त्यसैगरी एक्लैले विकास सम्भव छैन । विकास तब मात्र सम्भव हुन्छ, जब हामी नागरिक बन्छौँ, अर्काको समस्यालाई आफ्नो आँखाबाट हेर्छौं । सीमित स्रोतबाट असीमित माग पूरा गर्नुपर्ने हाम्रो देशमा ढुंगा हानेर मात्र सम्भव हुँदैन । कुरा ठूलो गरेर मात्र हुँदैन । समाधान छ भने समस्या कोट्याउनुपर्छ । होइन भने समस्या कोट्याउनुको अर्थ हुँदैन किनकि त्यस्तो समस्या इन्द्रले पनि पूरा गर्न सक्दैन । गुनासो पोख्नेले जिम्मेवारी पनि बोक्नुपर्छ । जिम्मेवारी नलिनेलाई गुनासो पोख्ने र गाली गर्ने अधिकार हुँदैन ।
    प्रस्तुतिः प्रेम गौतम
    तस्बीरः कृष्ण पौड्याल.  नयाँपत्रिका बाट 

     

आजको समाचार

जसलाई अभावले सताउँछ, उसले प्रगति गर्छ

हामी नागरिक बन्न सकेनौँ सबैले देश बिग्रियो–बिग्रियो भन्छन् । म पनि सप्रेको भन्दिनँ । तर, बिग्रेकै पनि होइन । त्यसमा मेरो आफ्नै अवधारणा छ । व्यक्तिगत रूपमा नेपालीले धेरै विकास गरेका छन् । त्यो कुन मानेमा भने, म पोखरा जाने वेलामा लाइनका लाइन पसल छन् । १०/१२ किलो सुनका सिक्री बेचिरहेका छन् । गल्लीगल्लीमा राम्रा–राम्रा पसल छन् । न्युरोडमा हेर्नुहोस्– आजभन्दा पाँच–दश वर्षपहिलासम्म पनि गुदपाक, सेकेन्डह्यान्ड घडी बेच्ने पसल भएको ठाउँमा अहिले झन्डै ८० वटा ज्वेलर्स पसल छन् । त्यहाँ गएर एउटा हीराको माला किन्नुभयो भने पाँचदेखि १० लाखसम्म पर्छ । पाँच–दश लाखको...

रेडियो हिमालय

हाम्रो बारेमा

रेडियो हिमालय डटकम काठमाडौँ बाट प्रसारण हुने नेपाली अनलाइन रेडियो हो । यसको प्रसारण सन् २०१४ बाट सुरु भएको हो । यो रेडियो,हिमालय फाउन्डेसन नामक सामाजिक ट्रस्ट ले संचालन तथा ब्यबस्थापन गर्छ ।रेडियो हिमालय डट कम भावनामा देश खोज्ने अभियान हो । भौगोलिक रुपमा नेपाल मा नभए पनि भावनामा नेपाल बोकेर संसार भरि रहनु भएका नेपाली हरुको दिल भित्रको नेपाल लाई जीवन्त राख्न , मातृभूमि र नेपालीको हितमा भएका सामाजिक काम हरुको प्रचार गर्न , नेपाली भाषा,साहित्य ,संगीत र सस्कृती लाई विश्वव्यापीकरण  गर्दै  बिदेशमा जन्मेर हुर्कदै गरेका दोश्रो पुस्तामा हस्तान्तरण गर्न विभिन्न प्रकारका रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गरिरहेका छौ

संपर्क ठेगाना



हिमालय फाउन्डेसन,कुपन्डोल ललितपुर
फोन नो : फोन: ०१-५५४४७६१,९८५१०४१४३५
ईमेल : [email protected]
वेब : www.radiohimalaya.com